२ साउन, विराटनगर ।
मोरङको पथरीशनिश्चरेमा भएको सडक दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । बस र पिकअप आपसमा ठोक्किदा अन्य ३० जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका २ जना यात्रु रहेको भएपनि नाम र ठेगाना खुल् नसकेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
मृत्यु हुने २ पुरुषमध्ये एकजनाको घटनास्थलमै र अर्का एकको नोबेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । कानेपोखरीको बिहीबारेबाट यात्रु लिएर पूर्वतर्फ जाँदै गरेको को.१ ख ४८४२ नम्वरको बस र पथरी बजारको तरकारी बजारबाट पूर्वपश्चिम सडकतर्फ निस्किएको मे.१ च ५३९१ नम्वरको पिकअप एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

घाईते मध्ये कानेपोखरी ४ का टीकाराम थापा, कानेपोखरी नारायण चोककी खिलमाया लिम्बू, वडा नम्बर ३ का मित्र दहालका छोरा नाम नखुलेका एकजना गरी १० जनालाई नाबेल र न्यूरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अन्य घाईतेको पथरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।