वडाध्यक्षको कुटाइबाट बालक घाइते

वडाध्यक्षको कुटाइबाट बालक घाइते

२ साउन, दाङ ।

दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेका छन् ।आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन् ।

हिजो बेलुका वडाध्यक्षको घर अगाडि खेलिरहेका केही बालबालिकामध्ये बालक घर्तीले फूल टिपेको आरोपमा अध्यक्ष सार्कीले कुटपिट गरी घाइते बनाएको बालकका आमा रैमता घर्तीले बताए । कुटपिटबाट बायाँ कान र पेटमा चोट लागेको बालकले बताएका छन् । उनको बायाँ गालामा निलडामसमेत देखिएको छ । बालक घर्तीको घोराही नयाँबजारस्थित नयाँबजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टरमा भर्ना गरेर उपचार गरिएको छ ।

बालकको कानमा केही फोहरसमेत जम्मा भएका कारण जालीको अवस्था के छ भन्नेबारेमा एक सातापछि फोहर निकालेर मात्रै भन्न सकिने डाक्टर विक्रम बुढाथोकीले बताए । बालकको कानको अवस्था गम्भीर नभए पनि जालीमा समस्या छ छैन भन्नेबारेमा एक सातापछि मात्रै थाहा हुने उनको भनाइ छ ।

रातभर कान दुखेर बालक छट्पटाएपछि बिहान अस्पताल लिएर आएको आमा रैमता घर्तीले बताए । वडाध्यक्षले उपचार खर्च दिनुको साटो फूल टिपेको पाँच हजार मागेकोसमेत घर्तीले बताए तर बालकले फूल नै नटिपेको बताए । उता वडाध्यक्ष सार्कीले बदमासी गरेका कारण सम्झाउँदै सामान्य एक थप्पड टाउकामा हानेको स्वीकार गरेका छन् । उनले उपचारका लागि खर्च दिनेसमेत बताए ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.