२ साउन, काठमाडौँ ।
नेपाल इन्जिनियर्स एशोसिएशनले ‘इन्जिनियर दिवस’ को अवसर पारेर श्रावण ३ र ४ गते काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष त्रिरत्न बज्राचार्यले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी श्रावण ३ र ४ गते काठमाडौंमा ५७ औं ईन्जिनियर दिवस भव्यताका साथ मनाउने तयारी गरिएको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच उद्घाटन गर्नु हुने सो कार्यक्रमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानमा साथ दिने गरी आवश्यक योजना तय गर्ने पनि उनले बताए । ‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरिङ सेवा’ नारा तय गरिएको सो दिवसमा नेपालका ईन्जिनियरहरुले भोग्दै आएका समस्याहरुको पहिचान गरी समाधानका लागि आवश्यक रणनीति तय गर्ने दावी पनि गरिएको छ । कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेका विभिन्न ६ वटा विधाका इन्जिनियरहरुलाई सम्मान पनि गरिने एशोसिएशनले जनाएको छ ।
नेपालमा हाल करिव ५२ हजार ईन्जिनियरहरु रहेको सरकारी तथ्यांक छ । उनीहरुलाई मुलुकको समृद्धिको अभियानमा एक साथ अघि बढाउन पनि ५७ औं ईन्जिनियर्स दिवसले सघाउ पु¥याउने नेपाल इन्जिनियर्स एशोसिएशनको अपेक्षा छ ।