३ असार,विराटनगर ।
श्रीकृष्ण जन्मष्टमीको भोली पल्ट विराटनगरमा प्रत्येक बर्ष मनाईने श्रीराधाकृष्ण रथयात्राको तयारी सुरु गरिएको छ । यसपल्ट आगामी भदौ ७ गते रथयात्रा मनाइने भएपछि तयारी सुरु गरिएको हो ।
रथयात्रालाई भब्यता पुर्वक सम्पन्न गर्न शुक्रबार विभिन्न १८ वटा उपसमितिहरु गठन गरिएका छन् । रथयात्रा आयोजक श्री राधाकृष्ण मन्दिर परिसरमा बसेको सर्वपक्षिय धार्मिक सभाले १८ वटै उपसमितिका संयोजकहरु तय गरेको हो । सो अवसरमा सहभागि वक्ताहरुले रथयात्रा विराटनगरको इतिहास र गौरव संग जोडिएको बिषय रहेकाले भब्य र सभ्यरुपमा सम्पन्न गर्न कुनै कसर राख्न नहुने बिषयमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरले मनाउने विभिन्न पर्वहरुको आफ्नै र विशिष्ट पहिचान रहेको उल्लेख गर्दै रथयात्राले आपसी सदभाव र सहिष्णुता कायम राख्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताए । उनले रथयात्रामा कुनै एउटा बिशेष धर्म र सम्प्रदाय मात्रको सहभागिता हुने नभइ सबै धर्म सम्प्रदायको मानिसहरुको सहभागि हुने कारणलेपनि यसको ठूलो महत्व रहेको बताए । मन्त्री घिमिरेले यसपल्टको रथयात्रालाई भब्यता प्रदानगर्न सामाजिक विकास मन्त्रालयले हेलिकप्टरबाट पुष्पबृष्टिको ब्यवस्था गर्ने जानकारी समेत दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले विराटनगर नवनिर्माणको क्रममा रहेकाले केहि समस्याजस्तो देखिएपनि रथयात्रा अघि नै सम्भव भएका स्थानहरुमा कालोपत्रे गर्ने तथा सम्भव नभएका स्थानहरुमा सम्याएर भएपनि निर्वाध रथयात्रा सम्पन्न गर्ने वातावरण बनाईने बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले रथयात्रालाई सुरक्षित र शान्त वातावरणमा सम्पन्न गर्न सम्बद्ध निकायका पदाधिकारीसंग छलफल गरेर वातावरण बनाइने बताए ।
लक्ष्मी नारायण मन्दिरका मठाधिश स्वामी अच्युत प्रपन्नाचार्यले विराटनगरमा महाभारत कालमै भगवान श्रीकृष्णले रथारुढ भएर विराटनगरमा पाइला टेकेको धार्मिक ब्याख्यानको चर्चा गदै पुर्वजहरुले सोहि इतिहासलाई रथयात्राकोरुपमा निरन्तरता दिएको विचार ब्यक्त गरे ।