साउन ४ । एजेन्सी ।
अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपका लागि एसिया छनोट खेल्न नेपाली टिम शनिबार सिंगापुर जाँदैछ ।
जुलाई २२ तारिख देखि सुरु हुने प्रतियोगिताका लागि नेपाली टिम मलेसियाबाट सिंगापुर जान लागेको हो । मलेसियामा अभ्यासका लागि केही समय पहिला नेपालबाट गएको टिमले त्यहाँ दुई ओटा टी–२० क्रिकेट पनि खेलेको थियो । जसमा सिरिज नै नेपालले क्लिन स्विप गर्न सफल भयो ।
मलेसिया र सिंगापुरको मौसम उस्ताउस्तै हुने भएकाले नेपालले त्यहाँ अभ्यासका लागि ठाउँ रोजेको हो । नेपालले मलेसियामा अभ्यास पूरा गरेकाले अबको ध्यान सिंगापुरमा हुने छनोट प्रतियोगितामा केन्द्रित हुने नेपाली टिमका प्रशिक्षक उमेश पट्वालले बताएका छन् ।
यसैगरी कप्तान पारस खड्काले विश्वकप छनोट खेल्ने टिममा नेपालको वरीयता उच्च रहेकाले सबै खेल जित्दै शीर्ष स्थानमा रहनका लागि मेहनत गरिरहेको बताए ।
छनोट खेलमा नेपालसहित कतार, मलेसिया, कुवेत र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले पहिलो खेलमा जुलाई २३ तारिखमा कतारसँग प्रतिस्पर्धा गर्ने छ भने २४ तारिखमा मलेसियासँग खेल्नेछ । २७ तारिखमा कुवेत र २८ तारिखमा घरेलु टोली सिंगापुरसँग खेल्नेछ ।