४ साउन, विराटनगर ।
पाँचदिन सम्म बाढीको चपेटामा परेर विस्थापितमोरङका बाढीपीडित घर फर्कदा सर्प र लामखुट्टेबाट प्रभावितबनेका छन् ।
अहिले बाढी प्रभावित बस्तीमा सर्प र लामखुट्टेको बिगविगी छ । विराटनगर महानगरपालिकाभित्रका बाढी प्रभावित क्षेत्रमा बेलुका सर्प निस्कनथाले पछि स्थानीय त्रसित छन् ।
त्यस्तै लामखुट्टेको संख्या बढेकोले रोग फैलने संभावना बढेको विराटनगर १२ का स्थानीयले बताएका छन् । सो वडामा अहिले बेलुकाहुन साथ सडकमा विषालु सर्पहरु देखिने गरेका छन् । सर्पबाट युवालाई भन्दा पनि बालबालिका र बृद्धबृद्धालाई जोगाउन मुस्किल भएको विराटनगर १२ सुकुम्बासी टोलका स्थानीयले बताएका छन् । सर्पसँगै लामुखट्टेको पनि संख्या बढेकाले सुत्न समेत नसकेको उनीहरुको भनाई छ । धेरै स्थानीयको बाढीले घरको टाटी बगाएकाले घर भित्र सर्पको र बाहिर लामखुट्टेका कारण बस्न सक्ने अवस्था नरहेको उनीहरु बताउँछन् ।
बाढी आए पछि लामखुट्टेको संख्या बढेकाले तत्काल किटनाशक झुल दिन उनीहरुले स्थानीयतह सँग माग गरेका छन । विराटनगर स्थित कोशी अस्पतालका प्रमुख डाक्टर रोशन पोखरेलले बाढी प्रभावित क्षेत्रबाट अन्य रोगका बिरामी नआएपनि सर्पदंशका बिरामी बढी आएको बताएका छन् । उनले दैनिक ३/४ जना सर्पदंशका बिरामी आउने गरेको बताए ।
यता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बाढीले डुवानमा परेका क्षेत्रहरुमा सरसफाई गरी सबै समस्या समाधान गर्ने महानगरले योजना बनाएर काम सुरु गरेको बताएका छन् । महानगरले पीडितको समस्याको पहचान गरेर समाधानगर्न कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।