५ साउन, उदयपुर ।
उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन । त्रियुगा नगरपालिका–९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन ।
शनिवार दिउँसो जंगली बिषादी च्याउ खाएर राजावासका ४० बर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ बर्षीया फुलमाँया दनुवार , छोरा बर्ष २० का अनिश दनुवार , ११ बर्षीय मनिस दनुवार र १७ बर्षीया रबिना दनुवार बिरामी परेका हुन ।
यसैगरी कटारी सिसाघारीकी ३५ बर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा टंककुमारी सहित उनका छोराहरु १४ बर्षीय अनिष दनुवार र ११ बर्षीय महेन्द्र दनुवार तथा ९ बर्षीया छोरी सुजिता दनुवार बिरामी भएका छन । च्याउ खादा छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ समेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
विरामी सबैको बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।