५ साउन, काठमाण्डौ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी जिल्ला कमिटी र महानगरपालिकाको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ ।
पार्टीको आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति अनुसार ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरपालिकाको पार्टी ई्रन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो । सबै जिल्ला र महानगरपालिकाको पार्टी ईन्चार्ज र सह–ईन्चार्जहरुको टुंगो लगाउने काम गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले साविककै पार्टी जिल्ला कमिटीका इन्चार्जहरुलाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरिएको पनि स्पष्ट पारे । बैठकले पार्टीको विभाग, आयोग, प्रवास संगठनको एकीकरणको काममा टुंगो लगाउन मंगलबार अपरान्ह १ बजे पार्टी केन्द्रिय कार्यालय, बुम्बाराहीमा सचिवालयको बैठक बस्ने निर्णय पनि गरेको छ ।
आगामी मंगलबार बस्ने पार्टीको सचिवालय बैठकमा पार्टीको विभाग, आयोग, प्रवास संगठनहरुको कामको जिम्मेवारी समेत बाँडफाँड गर्नेछ । यसैबीच, नेकपाका नेता बामदेव गौतमले पार्टी संगठन विभाग प्रमुखको जिम्मेवारी आफूले पाउने टुंगो लागेको दावी गर्नु भएको छ । उनले सचिवालय बैठकबाट बाहिरिने क्रममा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफू संगठन विभाग प्रमुख बन्ने पक्का भएको प्रतिक्रिया दिएका छन् । पर्सी मंगलबार बोलाइएको सचिवालय बैठकले विभागलगायतका जिम्मेवारीबारे टुंगो लगाउने पनि नेता गौतमले बताए ।
नेकपामा ३२ वटा विभाग रहने व्यवस्था गरिएको छ । त्यसमध्ये १८ वटा साविकको एमाले र १४ वटा विभागको नेतृत्व साविकको माओवादी केन्द्रलाई दिन अध्यक्षद्धय ओली र दाहालबीच सहमति जुटिसकेको छ । विभाग अन्तरगत संगठन विभाग, विदेश विभाग, नीति तथा प्रतिष्ठान विभाग साविकको एमाले र अर्थ विभाग तथा प्रचार विभाग साविकको माओवादी केन्द्रलाई दिने सहमत पनि अध्यक्ष ओली र दाहालबीच जुटेको छ । तर पार्टी स्कुल विभागमा भने साविकको एमाले र माओवादी केन्द्र दुवैको दावी रहेको बुझिएको छ ।