६ साउन, विराटनगर ।
विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा दुहवी–६ का अनिलकुमार साहको मृत्युभएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले साहको ज्यान गएको भन्दै सुनसरीको दुहबी बजार बन्द गरेका छन् । घुँडाको शल्यक्रिया गर्दा चिकित्सकको लापरबाहीले साहको मृत्यु भएको भन्दै उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनसँगै दुहबी बजार बन्द गराएका छन् ।
उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सवारी आवतजावतमा समेत रोक लगाएका छन् । प्रदर्शनले उग्ररुप लिन थालेपछि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
एसियन थाईफुड्स रमपम उद्योगका प्रोडक्सन इन्चार्ज समेत रहेका दुहबी–६ निबासी ४७ वर्षीय साहको शनिबार उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको थियो । साह गत बिहीबार चिप्लिएर देब्रे खुट्टामा चोट लागेपछि उपचारका लागि नोबेल पुगेका थिए । सोही दिन उपचार गरी घर फर्केका साह शुक्रबार फलोअपमा नोबेल अस्पताल आएका थिए । हाडजोर्नी तथा नशा रोग विशेषयज्ञ डा. धिरज सिंहले शल्यक्रिया गरिनुपर्ने बताएपछि उनको टिमले साहको शल्यक्रिया गरेको थियो ।
शनिबार शल्यक्रिया भएपनि त्यसदिन भेटन नदिइएको मृतकका भाई प्रदिप साहले बताएका छन । उनले आइतबार विहान मृत्यु भइसकेको खबर सुन्दा आफूहरुको होस उडेको बताए । घरबाट मोटसाइकल चलाएर आएको मान्छे चिकित्सकले मृत घोषणा गरेपछि स्थानीय आन्दोलित भएका हुन् । उनका आफन्तहरु विरोधमा उत्रिएपछि आइतबार पनि नोबेल अस्पताल परिसरमा तनाव उत्पन्न भएको थियो । यता नोबेल अस्पतालले भने उपचारको क्रममा स्वास्थ्य समस्याका कारण विरामीको मृत्यु भएको भन्दै अस्पतालले कुनै पनि लापार्बाही नगरेको दाबी गरेको छ ।