६ साउन, काठमाडौँ ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधान हटाउन नसकिने अडान राखेका छन् । मन्त्री बास्कोटाले राष्ट्रिय जनता पार्टी, नेपालका सांसदद्धय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले सो विधेयकबाट क्लिन फिड लागू गराउने प्रावधान हटाउन राखेको संशोधन प्रस्ताव सरकारलाई मान्य नहुने पनि स्पष्ट पारे ।
सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले राष्ट्रको हितसँग सम्बन्धित भएर सरकारले विधेयकमा सो प्रावधान राखेको स्पष्ट पार्दै फिर्ता लिन पनि संशोधनकर्ता सांसदद्धय कर्ण र मियाँलाई आग्रह गरे । नेपालको हितलाई प्रवद्र्धन गर्ने तथा नेपालका कलाकार, मिडिया क्षेत्रलाई पनि समृद्धितर्फ अघि बढाउने भएकाले विधेयकको सो प्रावधान हटाउन नसकिने मन्त्री बास्कोटाको तर्क छ । मन्त्री बाँस्कोटाले विज्ञापन बजारलाई नियमन गर्न राखिएको सो प्रावधान सय पटक छलफल गरेपनि हटाउने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे । मन्त्री बाँस्कोटाले क्लिन फिड मुलुकको राष्ट्रियता र रोजगारीसँग जोडिएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराए ।
बैठकमा समितिका सदस्यहरुले क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान विधेयकबाट हटाउन सरकारसँग माग गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सबैले व्यवसाय गर्न पाउने संवैधानिक हक विपरित सरकारले सो विधेयकमा क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान राखेकोमा आपत्ति जनाउँदै हटाउन माग गरे । उनले बाह्य पर्यटक भित्र्याएर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि क्यासिनोहरुको विज्ञापन गर्न पाउने व्यवस्था गर्न उपयुक्त हुने तर्क पनि गरे ।
सांसदहरुले सो विधेयक र सूचना प्रविधिसँग सम्बन्धित विषयकमा बाँझिएका कतिपय प्रावधान सच्याउन पनि सरकारलाई सचेत गराएका थिए ।