६ साउन,विराटनगर ।
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले जनताप्रति प्रतिबद्ध एवम नैतिक मुल्यमान्यताको जगमा उभिएर कामगर्न कार्यालय प्रमुखहरुलाई कडा निर्देशन दिएका छन् । आकस्मिक रुपमा मुख्यमन्त्री कार्यालयमा बोलाइएका कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले पछिल्लो समय भ्रष्टाचार र कमिशन लिएका घटनाहरु सार्वजनिक भइरहेको बताउंदै त्यस्तो बिषय क्षम्य नहुने चेतावनी दिए ।
उनले प्रदेश मातहतका कार्यालयमा घुुुस लिने र रकम संकलन गर्ने गरेको थुप्रै सुचना आफुसंग रहेको भन्दै त्यस्ता कर्मचारी चाँडै कार्वाहीको दायरामा आउने बताए । वन कार्यालयका प्रमुखलाई घुस सहित अख्तियारले रंगेहात पक्राउ गर्नु प्रदेश सरकारकै लागि दुखको कुरा भएको बताउदै उनले माथि मिलाउनुपर्छ भनेर कसको आडमा कर्मचारीहरुले खुलेआम कार्यालयमा अनियमितता र घुस लिई रहेका छन् त्यो सुचना दिन कार्यालय प्रमुखहरुलाई आग्रह गरे । मुख्यमन्त्री,मन्त्री, प्रमुख सचिव तथा मंत्रालयका सचिव कसको निर्देशनमा कर्मचारीहरुले कमिशन कलेक्सन गरिरहेका छन् उनले भने अब त्यो प्रष्ट पार्नु आवश्यक छ ।
मुख्यमन्त्री राईले अव आफु चुप लागेर नबस्ने बताउंदै कार्यालयमा कमिशन र भ्रष्टाचार गरेको पाइएमा एक घन्टाभित्र एक्सन लिने समेत चेतावनी दिए । उनले मुख्यमन्त्री काममा सुस्त भए भन्ने आरोप लागेको छ अव त्यो आरोप मिथ्या सावित हुने र सरकार अब विकास र समृद्धिको पथमा तिव्र गतिमा अघि बढ्ने बताए । संघियता कार्यान्वयनसंगै राष्ट्रसेवक कर्मचारीमाथि ठूलो जिम्मेवारी आएको भन्दै कुनै लोभ लालच नराखी जनताप्रति प्रतिवद्ध भएर कामगर्न उनले कर्मचारीलाई निर्देशन दिए ।
मुख्यमन्त्री राईले गतवर्षको वजेट ४ महिना अघि कार्यान्वयमा आएकाले असार मसान्त सम्म विकासमा खर्च गर्नु परेको प्रष्ट पारे । उनले विगतका वर्षमा जे भए पनि चालुु आर्थिकवर्षको बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले एक्सन प्लान वनाएर अघि बढ्ने तयारी गरि रहेको बताए ।