७ साउन, काठमाण्डौ ।
नारायणी नदीमा बाढी आएकाले पर्सासहित बारा, सुनसरी, मोरङ र चितवनका नदी आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यहाँ २४ घण्टामा १ सय ४९ दशमलव ६ मिलिमिटर पानी परिसकेकाले चितवनमा माडी र पूर्वी राप्ती, पर्सामा साना नदीतटीय क्षेत्र, बारामा लालबकैया र केही स्थानीय खोला तथा मोरङ र सुनसरीका नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सामान्यता २४ घण्टामा १ सय ४० मिलिमिटरभन्दा धेरै पानी परेपछि खतरा रहेको भन्दै महाशाखाले सावधानी अपनाउन अपील गर्दै स्थानीयको मोबाइलमा सन्देश पठाउने गर्छ । महाशाखाका बाढीविज्ञ सुनिल पोख्रेलका अनुसार अहिलेसम्म ८५ हजार व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गर्दै सन्देश पठाइसकिएको छ ।
पानी परिरहेकाले विभिन्न खोलामा बाढी आउने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन उनको सुझाव छ । बिहान ठूलो बाढी आएको बुटवलको तिनाउ नदीमा अहिले भने पानीको सतह घटेको पनि बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच मंगलबार र बुधबार कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायतमा बाढी आउने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन पनि महाशाखाले अनुरोध गरेको छ ।