विराटनगर : भारतले नेपालको सिमानामा भारु ४ हजार ९ सय करोडको नदी जोड परियोजना चाँडै सुरु गर्ने भएको छ । विहार सरकारका जल संशाधनमन्त्री सञ्जय झाले दुई साताभित्र केन्द्रीय सरकारबाट स्वीकृती प्राप्त हुने जानकारी गराएका छन् ।
सोमबार उनले अररियाको एक कार्यक्रममा सो कुराको जानकारी गराएका हुन् । नदी जोड परियोजनबाट विहारका चार जिल्ला अररिया, किशनगञ्ज, पुर्णियाँ र कटिहारको २ लाख ३५ हजार हेक्टरमा सिँचाई सुविधा पुग्नुका साथै चार जिल्लाका बासिन्दाले बाढीबाट राहत पाउने मन्त्री झाले बताए ।
कोशी र मेची नदीलाई जोड्ने सो परियोजना अन्तर्गत अन्य साना नदीहरुपनि छन् । महानन्दा बेसिन परियोजनामा उत्पन्न विवाद समाधान भईनसकेकाले परियोजना अघि बढाउन समस्या भएको हो । सीमा क्षेत्रमा भारतले यति ठुलो परियोजना सुरु गर्ने बताईरहेको छ ।
नेपाललाई भने केही जानकारी नै गराईएको छैन । एकपक्षिय रुपमा सीमामा भारतले तटबन्ध बनाएर ठाउँ–ठाउँमा नेपालतर्फ डुबानमा पारेर दु:ख दिईरहेको बेला यो महत्कांक्षी योजनामा विहार सरकारको अनुरोधमा केन्द्रीय सरकारले लगानी गर्न लागेको हो । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।