८ साउन, विराटनगर ।
बर्षातको समयमा खोलामा पानीको सतह बढेपनि खोलामा पुल नहुँदा मोरङ कटहरीका किसान ज्यान जोखिममा राखेर स्थानीय लोहन्द्रा खोला तर्दै आएका छन् । खोलाको पारिपट्टि खेती रहेका कारण उनीहरु जोखिम मोलेरै खोला तर्दै आएका हुन् ।
मोरङको कटहरी ४ फुलटोल मदुराका किसानहरुले दैनिक २ चार पटक स्थानिय लोहन्द्रा खोला नतरी सुखै छैन । उनिहरुको कटहरी–४ मा बसोबास रहेपनि खोलाको पारिपट्टि जहदा–४ मा खेतीपाती रहेका कारण खेतको रेखदेख र गोडमेल गर्न तथा उत्पादन भएका अन्नबाली र सागसब्जी टिप्न जानैपर्ने बाध्यता छ । यतिखेर खोलामा बाढी आएको अवस्था भएपनि उनिहरु दैनिक जोखिम मोलेर खोला तर्दै आएका छन । के युवा, के बृद्ध के महिला सबैजना ज्यान जोखिममा राखेर खोला तर्दै आएका छन ।
कटहरी–४ को फुलटोल मदुरामा बसोबास गर्ने १ सय ३ किसान परिवारमध्ये अधिकांश परिवारको लोहन्द्रा खोलाको पारिपट्टि खेती छ । पारिपट्टि रहेको खेतमा अधिकांश परिवारले तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीमा दैनिक गोडमेल र मलजल गर्नुपर्ने भएका कारण उनिहरु दैनिक ज्यान जोखिममा राखेर खोला तर्नुपरेको छ । ज्यान जोखिममा राखेर तरकारी टिप्न जाने क्रममै असार २८ गते स्थानिय सोभा सोरेन खोलामा डुबेर बेपत्ता भएको स्थानीय किसान आनन्दी सिंहले बताइन् ।
कटहरी–४ मा किसान परिवारको बाक्लो बसोबास रहेपनि नजिकै पुल नरहेका कारण उनिहरुले जोखिम मोल्नुपरेको हो । सो खोलामा गाँउभन्दा ५ किलोमिटर दक्षिण रामचोकमा र १२ किलोमिटर उत्तर लक्ष्मीनियामा पुल रहेका कारण पुलको बाटो प्रयोग गर्न घन्टौ समय लाग्ने भएपछि किसानहरुले जोखिम मोलेर खोला तर्दै आएका छन् । जनप्रतिनिधि र सम्बन्धित निकायमा पटकपटक पुलको मागगर्न गएपनि पुल बन्न नसकेका कारण आफुहरुको ज्यान जोखिमा रहेको स्थानीय चन्द्रकला देवी सिंहको भनाई छ ।
पुल नभएका कारण बर्षातको ३ महिनाको समय फुलटोलका बासिन्दाकालागि अत्यन्त जोखिमपूर्ण रहने गरेको छ । यो उनिहरुले बर्षौदेखि भोग्दै आएको समस्या हो । गाँउका किसानहरुको समस्या समाधानगर्न सो ठांउमा झोलुङ्गे पुल निर्माण गर्ने प्रयास भइरहेको स्थानीय युवा अभियन्ता बिनोद सिंहले जानकारी दिए ।
तरकारीको पकेट क्षेत्रकोरुपमा रहेको सो क्षेत्रको १ सय ५० हेक्टर बढी क्षेत्रफलमा तरकारी खेती हुंदै आएको छ । विराटनगरमा आपुर्ति हुने ९० प्रतिशत सागसब्जी सोहीक्षेत्रबाट आउने गरेको तथ्याङ छ ।