८ साउन, काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी, नेपालले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले बुधबार प्रतिनिधिसभा बैठकमा पेश गरिएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ को समर्थन गर्दै वर्षात पीडितका लागि तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
उनले तराईमा सधै आउने डुबानको समस्या समाधान गर्न पूर्व तयारी गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे । ‘अहिले पनि सरकारले झारा टार्ने काम गरिएको छ,’ संयोजक यादवको भनाई थियो, ‘पीडितलाई राहत दिन सरकार गम्भीर बन्नुप¥यो ।’
संयोजक यादवले तराई, मधेशको डुबानबाट पीडित भएकाहरुलाई राहतका लागि सरकारलाई सहयोग गर्न जनप्रतिनिधिको रुपमा आफूहरु तयार रहेको पनि बताए । उनले पहाडमा वर्षेनी आउने पहिरो र तराईमा हुने डुबानको समस्या समाधान गर्न सरकारले संवेदनशीलता नदेखाएको आरोप पनि लगाए ।
उनले बाढी, पहिरो र डुबान पीडितलाई राहत वितरणका लागि प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न पनि सरकारलाई सचेत गराए ।