९ साउन, काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रअका प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट नभएको स्पष्ट पारेका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहिबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको भनी आएको समाचारमा सत्यता नभएको दाबी गरेका हुन् ।
दुवै जनाको कता कताको फोटो राखेर भेटघाट भयो र ढाँटियो नि’ भन्ने काम गरिएको भन्दै उनले मेनस्ट्रिम मिडिया लाई ‘कुहिरीमण्डलको खेतीमा’ नरुमल्लिन आग्रह गरे । रअका प्रमुखले अन्य नेतासंग गरेको भेटघाटका सम्बन्धमा उनले अनविज्ञता जनाए ।
पूर्व प्रधानमन्त्री लगायतसंग रअका प्रमुखले गरेको भेटघाट कुटनीतिक मर्यादा अनुसार छ त भन्ने पत्रकारको जिज्ञासामा उनले भेटबारे नै आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । पत्रकार सम्मेलनमा साउन ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु पनि सार्वजनिक गरिएको थियो ।