१० साउन, काठमाडौँ ।
अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को आइटम गीत सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले सार्वजनिक गरेको ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ । यो गीत पुरानो फिल्म ‘मनको बाँध’ मा रहेको गीतको रिमेक हो । ओर्जिनल गीतमा भने मिरा राणाको स्वर रहेको थियो । किरण खरेलले शब्द रहेको गीतमा शिव शंकरको संगीत छ ।
गीतको भिडियोमा तनुजा गुरुङ्गले बोल्ड ठुम्का लगाएकी छन् । गीतका कोरियोग्राफर गोबिन्द राई हुन् । तनुजालाई अडिसनमार्फत् यो गीतमा नृत्यको लागि छनोट गरिएको थियो । गीतमा फिल्ममा प्रमुख भूमिकामा रहेका प्रमोद अग्रहरी पनि फिचर्ड छन् । फिल्मका लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रि–एरेञ्ज गरेका छन् ।
यो फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठ यस फिल्ममा एक्सन अवतारमा प्रस्तुत छिन् । फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । यसअघि फिल्मको टिजर, पोष्टर र एक रोमान्टिक गीत पनि सार्वजनिक भइसकेको छ ।
फिल्मले बदलाको कथा वाचन गरेको निर्माण टिमले बताएका छ । ‘जाइरा’ मा नम्रता र प्रमोदसँगै अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ ।