१० साउन, विराटनगर ।
तटबन्ध भत्काएर लोहन्द्रा खोलाको बाढी बस्ती पस्दा मोरङको जहदा गांउपालिका–७ डुबान भएको छ । बाढी बस्तीमा प्रवेश गरेपछि जहदा–७ को भीमपुर लगायतका क्षेत्र डुबान भएको हो ।
सडक र घर डूबान भएका कारण सो वडाका कयौं परिवार घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । उक्त बस्तीको सडक र स्थानियको आँगनबाटै खोला कुदेको छ । पश्चिम पट्टि रहेको लोहन्द्रा खोला शुक्रबार बिहान बस्ती प्रवेश गरेको थियो । यसअघि खोलाको दुवैतर्फ बांधिएको बांध बाढीले भत्काएपछि बस्तीमा खोला प्रवेश गरेको हो । खोला प्रवेश गरेपछि सो बस्तीका सबैको घरमा बाढीको पानी प्रवेश गरेको छ ।

बाढीका कारण रोपाई गर्न तयार रहेको बिउ नष्ट भएको छ भने कतिपयले घर छाडेर अन्यत्र गएको स्थानिय सलदेव यादवले जानकारी दिएका छन् । प्रायजसो प्रत्येकबर्ष लोहन्द्राको बाढी भीमपुरमा पस्ने गरेको जहदा ७ का वडाध्यक्ष भगवानलाल बेस्राले जानकारी दिए । स्थायीरुपमा बाढी नियन्त्रण गर्न लोहन्द्रा खोलको दुर्वतर्फ १ किलोमिटर क्षेत्रमा स्थायी तटबन्ध निर्माण गर्नुपर्ने जहदा गांउ कार्यपालिकाकी सदस्य विनिता सिंहले बताइन् ।


