१० साउन, विराटनगर ।
मोरङका जुत्ता चप्पल उत्पादक उद्यमीहरु संगठित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका कार्यबाहक अध्यक्ष चेतन निरौलाको अध्यक्षतामा शुक्रबार विराटनगरमा भएको भेलाले कुमार शाक्यको संयोजकत्वमा तदर्थ समिति बनाएको छ ।
समितिको महासचिवमा उमेश पराजुली, कोषाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन भने सदस्यहरुमा मोहम्द हलिम मिया र दीपचन्द्र रोक्का रहेका छन् । भेलाले सरकारले हालै ल्याएको कर नीति, स्थानीय सरकारको कर, बजारको अवस्था, कामदारको अभावलगायतका विषयमा छलफल गरेको कार्यबाहक अध्यक्ष निरौलाले जानकारी दिए ।
भेलाले तदर्थ समितिको सल्लाहकारमा अध्यक्ष निरौला र जम्सेद अहमदलाई चयन गरेको छ । जुत्ता चप्पलमा मुलुक आत्मनिर्भर बन्दै गए पनि अनेकौं जटिलता रहेकाले संगठित हुनु परेको तदर्श समितिका संयोजक शाक्यले बताए । मोरङमा हाल १ सयभन्दा बढी जुत्ता चप्पल उद्योग आधिकारिक रुपमा सञ्चालनमा छन् ।