११ साउन,विराटनगर ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश १ का सचिवालय सदस्य तथा खेल प्रमुख रोहित कोइरालाले विराटनगरस्थित पोखरीया डोजोका खेलाडीलाई पोशाक सहयोग गरेका छन् । शनिबार पोखरीया मा.वि. विराटनगरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी युवासंघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेतले कराँते गि, टि सर्ट, ग्लोब लगायतका पोशाक वितरण गरे ।
पोशाक बितरण कार्यक्रममा प्रमुख अतिथि बस्नेतले संसारलाई जित्ने माध्यम खेलकुद रहेको भन्दै खेलले ब्यक्तिलाई मात्र नभै समाज र राष्ट्रलाई स्वस्थ्य राख्न भुमिका निर्वाह गर्ने बताए । कार्यक्रममा कोइरालाले पोखरीया डोजोले कराँतेमा विराटनगर र प्रदेशको मान राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गरे । नेपाल र भारतका विभिन्न प्रतियोगितामा भाग लिएर यो डोजोका खेलाडीले पदक जित्दा प्रदेश १ का सवै खेलप्रेमी हर्षित हुने गरेको उनले बताए । लामो समय खेल क्षेत्रमा रुचि राख्दै आएका कोइरालाले सानो भएपनि खेलाडीलाई सहयोग गर्ने अवसर दिएकोमा धन्यवाद दिए ।
कार्यक्रममा पोखरीया डोजोका संस्थापक तथा प्रमुख प्रशिक्षक बिनोद राउतले खेलाडीहरूले पाएको सफलताको चर्चा गर्दै यस्ता सहयोगले खेलाडीहरूको मनोबल उच्च हुने बताए । सो अवसरमा १५ हजार मुल्य बराबरको पोशाक र पोखरीया डोजोका २०७५ का उत्कृष्ट खेलाडी सुवास चौधरीलाई नगद ३ हजार १ सय पुरस्कार प्रदान गरिएको थियो ।