१२ साउन, काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई वटा घटनाको तत्काल छानविन गर्न संसदीय समिति बनाउन सरकारलाई दवाव दिएका छन् । संयोजक यादवले सर्लाहीमा भएको सो मृत्युको घटनाको छानविनका लागि संसदीय समिति गठन नगरे सोमबार बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिए ।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सर्लाहीमा भएको दुवै मृत्यु प्रकरण गैर न्यायिक भएकाले आफ्नो पार्टीले संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्दै आएको र त्यसको सुनुवाई नभए प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने निर्णय गरिएको स्पष्ट पारे । नेत्रविक्रम चन्द समूहका सर्लाही ईन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको प्रहरीको गोली लागेर मृत्यु भएपछि त्यसको न्यायिक छानवीनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले यस अघि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका थिए ।
संयोजक यादवले गैरन्यायिक ढंगले प्रहरीबाट मारिएका ती दुवै प्रकरणको छानविन गर्न संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने पार्टीको अडान पनि दोहो¥याए । संयोजक यादवले पार्टीको आसन्न महाधिवेशनको तयारीको कामलाई पनि तीव्रता दिइएको बताए । उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालसँग पार्टी एकताका लागि वार्ता प्रक्रियालाई जारी राखिएको पनि बताए ।