१२ साउन, विराटनर ।
जिल्ला खेलकुद विकास समिति मोरङले कार्यकाल सकिएका अध्यक्ष, कोषाध्यक्ष र एक सदस्यलाई सम्मानसहित विदाइ गरेको छ ।
बिराटनगरको सहिदमैदानस्थित कार्यकक्षमा आइतबार आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष किशोरलाल अमात्यसहित कोषाध्यक्ष सुजय गौतम र सदस्य भुवन खतिवडाको चारवर्षे कार्यकाल पूरा भएसंगै समितिले विदाइ गरेको हो । विदाइका क्रममा अमात्यले विगत ४ वर्षको कार्यकाल सन्तोषजनक रहेको बताए । भौतिक पूर्वाधार निर्माणदेखि सातौं राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको बताएका अमात्यले खेलकुदमा देखिएका विकृति र विसंगति न्यून गर्न सफल भएको दाबी गरे । अमात्यले खेलकुदमा काम गर्ने भन्दापनि कुरा काट्ने जमात ठूलो रहेको भन्दै त्यस घेराबाट बाहिर निस्कन सकेमात्र खेलकुदमा विकास हुने बताए । त्यसैगरि कोषाध्यक्ष पदबाट विदा भएका गौतमले खेलकुदमा सक्रिय रहेको बताउँदै पुनः फर्कनसक्ने संकेत गरे । अध्यक्ष अमात्यले कार्यकालमा समितिले भौतिक संरचना निर्माणमा विशेष जोड दिएको बताए ।
अमात्यको यस चारवर्षे कार्यकालमा सहिद मैदानलाई तत्कालिन उपमहानगरपालिकासंगको सहकार्यमा पुनः निर्माण गरिएको थियो । उपमहानगरपालिकाको १ करोड रुपैया आर्थिक सहयोगमा सहिद मैदानको घाँस, तारबारको घेरा, चेन्जिङ रुपको लागि ५० लाख रुपैया उपलब्ध गराएको थियो । त्यसैगरि, यसै कार्यकालमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना बिराटनगरमा भएको थियो । सो क्रममा समितिकै पहलमा बैजनाथपुरस्थित स्पोर्टस कम्प्लेक्समा अवस्थित क्रिकेट मैदानका लागि १ करोड रुपैया, सुटिङ रेन्ज र हलका लागि ६० लाख रुपैया र सफ्ट टेनिस कोर्टका लागि ४० लाख रुपैयामा खर्चिएको थियो।
हाल सफ्ट टेनिस र सुटिङ हल प्रयोगविहीन अवस्थामा रहेको छ । यसैसमितिले गएको आर्थिक वर्षमा लक्ष्मीमार्ग खेलमैदान र पथरीस्थित खेलमैदानका लागि समान १० लाख रुपैया उपलब्ध गराएको थियो ।