१३ साउन,विराटनगर ।
विराटनगरका युवाहरुले संचालन गरेको क्लोथ बैंकबाट ३ दिनमा डेढ सय बढी विपन्न लाभान्वित भएका छन् । स्थानीय ट्राफिकचोकमा संचालनमा ल्याइएको लुगा संकलन तथा वितरण केन्द्रबाट शनिवार,आइतबार र सोमबारगरि तिन दिनमा १ सय ५० बढी विपन्नहरुले आफ्नो आवश्यकता अनुसारको लुगा लिएर गएका छन् ।
साउन १० गतेबाट संचालनमा ल्याइएको क्लोथ बैंकबाट १ सय ५० बढी ब्यक्तिले लुगा लिएर गएको तथा २ सय ५० बढी ब्यक्तिले लुगा जम्मा गराएको युवा अभियन्ता भुषण पोमुले जानकारी दिए । युवाहरुको अभियानलाई सहयोगगर्दै स्थानियवासीले आफुलाई अनावश्यक भएको लुगा झोला र बोरामा प्याक गरेर ल्याइदिने गरेका छन् । क्लोथ बैंकबाट बाढी पीडितका साथै विपन्न परिवारका मानिसहरुले आफुलाई उपयुक्त हुने लुगा लाने गरेका छन् ।
अभियानले सफलता हासिल गर्दै गएपछि अभियानमा संलग्नु युवाहरु त्यसलाई ब्यवस्थितगर्ने सोंचमा छन् । यतिखेर ट्राफिकचोकको फुटपाथमा लुगा संकलन र वितरण गर्दै आएका युवाहरु सम्भव भए मेनरोडमै सटर राखेर क्लोथ बैंकलाई स्थायित्व दिने बताएका छन् । लायन्स र लियो क्लब,बिईंग नेपाली सहित विभिन्न संघसंस्था र सामाजिक संजालका विभिन्न ग्रुपमा आबद्ध युवाहरुको समुहले क्लोथ बैंक संचालनमा ल्याएका हुन् । उनीहरु बिहानदेखि बेलुकीसम्म आफै काउन्टरमा उभिएर लुगा संकलन र वितरणको काम गर्दै आएका छन् ।