विराटनगर । नवलपुरको कावासोती १० मगरकोटमा रहेको एनसेलको टावरमा गएराति आगजनी भएको छ । आगलागी अज्ञात समुहले गरेको बताइएको छ ।
आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । टावरमा लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रणमा आएकोे छ । घटनाको अनुसन्धान जारी रहेको छ ।
त्यस्तै म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको बन्चरेढुङ्गामा रहेको एनसेलको टावरमा पनि गएराती नै अज्ञात समूहले आक्रमण गरी क्षति र्पुयाएका छन् ।
राती साढे १० बजे टावरमा वम विस्फोटको आवाजसंगै आगलागी भएको टावरका कर्मचारी हरिलाल घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार टावर रहेको ठाउँमा राखिएको जेनेरेटर, व्याट्रिवक्स लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् ।
टावरमा क्षति पुगेपछि गएराती देखिनै एनसेलको सेवा अवरुद्ध भएको छ । घटनाको जिम्मेवारी कसैले पनि नलिएको बताइएको छ ।