साउन १६, काठमाडौं । मैत्रीपूर्ण फुटबलका खेलहरुमा चेल्सी र लिभरपुल विजयी हुँदा आर्सनल बराबरीमा रोकिएको छ ।
गएराती भएको खेलमा चेल्सीले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई ५–३ गोल अन्तरले हरायो । खेलमा पाहुना टोली चेल्सीका लागि अमेरिकी खेलाडी क्रिश्चियन पुलिसिचले दुई गोल गरेका छन् । यसै सिजनमा चेल्सी आएका पुलिसिचको नयाँ क्लबका लागि यो नै पहिलो गोल हो ।
गएराती चेल्सीको जितमा रोस बार्कले, पेड्रो र मिचि बात्सुइले पनि एक–एक गोल थपे । जितसँगै चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डले आफ्नो पछिल्ला तिनवटा खेलमा चेल्सीलाई जिताएका छन् ।
अन्य मैत्रीपूर्ण खेलहरुमा इंग्ल्याण्डको लिभरपूलले फ्रान्सको लियोनलाई ३–१ गालले हरायो । लिभरपुलको जितमा रोबर्टो फर्मीनो र ह्यारी विल्सनले एक एक गोल गर्दा लियोनका वाकिम एन्डर्सनले एक आत्माघाती गोल गरे ।
अर्को खेलमा इंग्लिस क्लब आर्सनलले फ्रान्सको एंगर्ससँग १–१ गोलको बराबरी खेलेको छ ।