स्टिभ स्मिथले गरे अष्ट्रेलियाको उद्धार

स्टिभ स्मिथले गरे अष्ट्रेलियाको उद्धार

साउन १७, एजेन्सी । विश्व टेस्ट क्रिकेट च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ ।

इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको बहुचर्चित एसेज शृंखलासँगै विश्व टेस्ट च्याम्पियनसिपको औपचारिक सुरुवात भएको हो । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्व टेस्ट च्याम्पियनसिपलाई टेस्ट क्रिकेटको विश्वकपका रुपमा व्याख्या गरेको छ ।

इंग्ल्यान्डको बर्मिङ्घममा बिहीबार सुरु भएको एसेज शृंखलाको पहिलो टेस्ट नै विश्व टेस्ट च्याम्पियनसिपको पहिलो खेल बनेको छ । शृंखलाको पहिलो टेस्टको पहिलो दिन अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले टोलीको उद्धार गरेका छन् ।

स्मिथले १ सय ४४ रन बनाएपछि अष्ट्रेलियाले ‘अलआउट’ हुनुपूर्व २ सय ८४ रनको सम्मानित योगफल खडा गर्यो । कुनै समय १ सय २२ रन जोड्दा ८ विकेट गुमाइसकेको अष्ट्रेलियाका लागि स्मिथले जिम्मेवार पारी खेले । स्मिथले २ सय १९ बलको सामना गर्दै सो योगदान गरेका हुन् । जसमा १६ चौका र दुई छक्कासमेत सामेल थियो ।

यस्तै, पिटर सिडलले ४४ र ट्रभिस हेडले ३५ रन जोडे । अरु खेलाडी सस्तैमा पेवेलियन फर्किए । बल ‘टेम्परिङ’ प्रकरणपछि एक वर्षको प्रतिबन्ध झेलेर टिममा पुनरागमन गरेपछि स्मिथको यो पहिलो टेस्ट खेल हो ।

बलिङतर्फ घरेलु टोली इंग्ल्यान्डका स्टुवार्ट ब्रोडले सर्वाधिक ५ विकेट लिए । एसेज शृंखलाको यो संस्करणमा इंग्ल्यान्ड र अष्ट्रेलियाले पाँच टेस्ट म्याच खेल्दैछन् ।

यी सबै खेल विश्व टेस्ट च्याम्पियनसिपका हुनेछन् । ९ राष्ट्रबीचको टेस्ट च्याम्पियनसिपमा भारत, पाकिस्तान, बंगलादेश, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज पनि सहभागी छन् ।

यी राष्ट्रबीच दुई वर्षसम्म २७ शृंखलामा कुल ७१ टेस्ट खेल हुनेछ । हरेक खेल जित्ने र बराबरी खेल्ने टिमले अंक प्राप्त गर्नेछन् । सोही अंकका आधारमा तालिकामा शीर्ष दुई स्थानमा रहने टोलीले २०२१ को जुन महिनामा इंग्ल्यान्डमा फाइनल खेल्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.