१७ साउन ,विराटनगर।
विराटनगर विमानस्थलमा स्तनपान एवम शिशु स्याहार कक्ष संचालनमा ल्याइएको छ । विमानस्थल टर्मिनल भवनमा संचालनमा ल्याइएको स्याहार कक्षको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उदघाटन गरे । टर्मिनल भवनको पश्चिम पट्टि सिढि छेउमा रहेको कोठालाई ब्यवस्थित गरि स्याहार कक्ष संचालनमा ल्याइएको हो ।
रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र विमानस्थल कार्यालयको संयुक्त पहलमा कक्ष संचालनमा ल्याइएको हो । विमानस्थल प्रमुख टेकनाज सिटौलाले विमानस्थल प्रयोगकर्ता यात्रुहरुकालागि सेवा सुविधा अभिबृद्धि गर्ने अभिप्राय सहित कक्ष संचालनमा ल्याइएको बताए ।उनले विराटनगर विमानस्थबाट दैनिक १ हजार यात्रु आउजाउ गर्ने गरेको जानकारी दिए । शिशु स्याहार केन्द्र र स्तनपान कक्ष नभएका कारण यात्रुहरुले समस्या झेल्दै आएको पनि उनले बताए । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी अध्यक्ष श्रुती शर्माले आमा तथा बच्चाहरुको सुविधालाई ध्यानमा राखेर स्याहार कक्ष संचालनमा ल्याइएको बताइन ।
मेयर पराजुलीले विमानस्थलको स्तरोन्नतिका निम्ति महानगरपालिकाले संघीय सरकारसंग लबिङ गरिरहेको जानकारी दिए । शिशु स्याहार केन्द्रलाई बालमैत्री बनाउन रोटरीले रंगरोगन गराउनुका साथै आवश्यक फर्निचरको ब्यवस्था गरिदिएको जनाइएको छ । स्याहार कक्षको संचालन र संरक्षणको बिषयमा रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र विराटनगर विमानस्थलबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।