साउन १७, काठमाडौं ।
सर्वोच्च अदालतले मोरङ उर्लाबारीका सनम शाक्यको हत्या तथा ३८ क्वीनटल सुनकाण्डमा महावीर गोल्यान बाहेक अरुको हकमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ । सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा महावीर गोल्यान बाहेक अन्य प्रतिवादीहरुलाई रिहा गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार गोल्यानलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिंदै अन्य प्रतिवादीहरुको हकमा मोरङ जिल्ला अदालत र विराटनगर उच्च अदालतले गरेको फैसला सदर गर्ने निर्णय गरेको हो । मोरङ जिल्ला अदालत र विराटनगर उच्च अदालते कुनै पनि आरोपीहरुलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि गोल्यानले गत मंसीर १४ गते सर्वोच्च अदालतमा रीट हालेका थिए ।
सर्वोच्चको आदेशबाट प्रतिवादीहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेलसहित २८ जना थुनामै रहनेछन् ।