साउन १८, एजेन्सी । भारत र वेस्ट इण्डिजबीचको पहिलो टी–२० शनिबार हुँदैछ ।
विश्वकपपछिको पहिलो सिरिज खेल्न लागेका भारत र वेस्ट इण्डिजबीचको टी–२० राति सवा ८ बजेपछि सुरु हुनेछ । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिममा आज शिखर धवनले पुनरागमन गर्ने भएका छन् ।
विश्वकपमा घाइते भएपछि बीचमै प्रतियोगिता छोडेका धवनले यो सिरिजबाट कमब्याक गर्न लागेका हुन् ।
यसैगरी यो सिरिजलाई युवा खेलाडीले आफूलाई सिद्ध गर्ने मौकाको रुपमा पनि लिइएको छ । भारतका मनिष पाण्डे तथा श्रेयस अय्यर पनि भारतीय टिममा रहेका छन् ।
टी–२० मा वेस्ट इण्डिज पनि बलियो टिम भएकाले भारतसँगको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ । तर वेस्ट इण्डिजका आन्द्रे रसेल भने घाइते भएकाले टिममा नपरेको जनाइएको छ ।
भारत र वेस्टइण्डिजबीचको सिरिजमा तीन ओटा टी–२०, तीन ओटा एकदिवसीय र दुई ओटा टेस्ट क्रिकेट सामेल छन् ।