२१ साउन, काठमाडौँ ।
नेकपाका सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्र्दभमा उनले नागरिकता दिनेलाई पनि कारवाही गर्न माग गरे ।
उनले ‘नागरिकता पाउनेलाई मात्रै कारवाही गर्ने तर नागरिकता दिनेमाथि कारवाही किन भएन ?’ भनी प्रश्न गरे । उनले नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्ने माथि कारवाही भएको सुन्नमा नआएको भन्दै ती अधिकारीलाई कारवाही गरेर सरकारले सदनलाई जानकारी गराउन माग गरे । त्रिपाठीले यस बर्ष पनि रासायनिक मलको अभावले कृषि क्षेत्र पुन प्रभावित हुने देखिएको भन्दै बर्षेनी मल अभावको कर्मकाण्डी समस्या समाधान तर्फ सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलमले तराईका जिल्लामा बाढी र डुबानबाट प्रभावितका लागि रातह तथा पुनस्थापनामा सरकार गम्भीर नभएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। अनुगमनका क्रममा आफु त्यस क्षेत्र जाँदा रौतहतका बाढी प्रभावितहरुको दयनिय अवस्था देखेको र अन्य स्थानका बाढी प्रभावितको अवस्था पनि त्यस्तै रहेको भन्दै उचित पुर्नस्थापना र राहत वितरणमा सरकार गम्भीर बन्न नसकेको बताए । उनले सरकार “सुतेर बसेको”टिप्पणी पनि गरे ।
राजपाका सांसद लक्षमणलाल कर्णले बाढी पीडीतको उचित प्रबन्धका तत्काल कारवाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले बाढी प्रभावितको राहत तथा पुनस्थापनाका लागि सदनमा आवाज उठिराखेको भएपनि त्यसको सुनुवाई नभएको मा आक्रोश पोखे ।