२१ साउन, काठमाडौँ ।
नेकपाका सांसद गजेन्द्रबहादुर महतले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद महतले कर्णालीको सदरमुकाम जुम्लामा २०३८ सालमा बनेको २ सय किलोवाटको वत्ती बिग्रिएका कारण जिल्ला अन्धकारमा पर्दा पनि सम्बन्धीत निकायले चासो नदेखाएको भन्दै आक्रोश पोखे ।
जिल्लाबासीको समस्या बारे जानकारी गराउन खोज्दा उर्जा मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले भेट नदिएको गुनासो उनले गरे । उनले भने “यति मिडियामा आईसक्यो । यति सामाजिक सञ्जालमा आइसक्यो । यति धेरै हामीले फोन गरिसक्यौ । यति धेरै भेट्न कोशिश गर्यौ हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज भन्या को हो भने कुलमान घिसिङ । अनि अर्का श्री ३ महाराज हुनुहुन्छ बर्षमान पुन । उर्जामन्त्री । फोन पनि उठ्दैन भेटघाट गर्न पनि पाईदैन ।”
उनले जुम्लाबासीको समस्यालाई पनि राष्ट्रिय समस्याको रुपमा बुझिदिन आग्रह गरे । प्राधिकरण भित्रको कमिसनका बारेमा आफुले सुनेका कुरा नै सही रहेछ भन्ने लागेको भन्दै उनले भारत बेच्ने भनिएको बिजुली जुम्लालाई बेच्न आग्रह गरे ।