२२ साउन, काठमाडौं ।
यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ ।मुख्य प्रशिक्षक सुनील श्रेष्ठले बुधबार साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।
भारतको कल्यानी रंगशालामा यही २१ अगष्टबाट ३१ अगष्टसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको लक्ष्य उपाधि जित्नु रहेको छ । पाँच देशको सहभागिता रहने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक भारतसँग अगष्ट २१ मा प्रतिस्पर्धा गर्दैछ ।
त्यस्तै नेपालले दोस्रो खेल अगष्ट २३ मा श्रीलंकासँग र तेस्रो खेल अगष्ट २७ मा बंगलादेशसँग खेल्ने छ । नेपालले अन्तिम खेल भुटानसँग अगष्ट २९ तारिखमा खेल्नेछ ।
राउण्ड रोविनमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टीम फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल भने अगष्ट ३१ तारिखमा हुनेछ ।
मुख्य प्रशिक्षक श्रेष्ठले नेपालको लक्ष्य उपाधि भएको बताएका छन् । उनले भने, ‘ हामी पहिलो खेलमा नै जित हात पार्दै राम्रो सुरुवात गर्ने छौं । लिग चरणमा राम्रो गर्दै फाइनलमा पुग्ने छौं र उपाधि जित्ने हाम्रो लक्ष्य हुनेछ ।’
नेपाली टीम
गोलकिपर : ईश्वर गुरुङ, मनोज दाहाल, जेनियस केसी
डिफेन्डर : प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा
मिडफिल्डर : जान्मीजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई
फरवार्ड : क्रिशन अधिकारी यादव, क्रिश सापकोटा, सुजन जिमी, शशांक बोहरा ।