विराटनगरको बैजनाथपुर रंगशाला निर्माणमा अनियमितता : २ फिट खाल्डो खन्न २६ लाख!

विराटनगरको बैजनाथपुर रंगशाला निर्माणमा अनियमितता : २ फिट खाल्डो खन्न २६ लाख!

२३ साउन, विराटनगर ।
विराटनगर महानगरपालिका १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशाला। रंगशालाको बीचमा सानो पोखरी। छेउमा गएर हेर्दा माछाहरू फुत्रुक फुत्रुक गरिरहेको दृश्य। खेल मैदानबीचमा रहेको पोखरी पौडी पोखरी भने हैन।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २८ लाख खर्च गरेर निर्माण गरेको क्रिकेट प्रतियोगिता गराउने पिचको दृश्य हो यो। बैजनाथपुर रंगशाालामा क्रिकेटको पिच निर्माण गर्न मन्त्रालयले ४३ लाख बजेट छुट्याएको थियो। उक्त बजेट जिल्ला स्वास्थ्य कार्यालयमार्फत नवीन घिमिरे अध्यक्ष रहेको उपभोक्ता समितिसँग जेठमा सम्झौता गरी क्रिकेट पिच निर्माण गर्न हस्तान्तरण गरिएको थियो ।

समितिले क्रिकेट पिच निर्माण गरिसकेको बिल भर्पाइ पेस गरेर २६ लाख भुक्तानी लिइसकेको छ। समितिले भुक्तानी लिइसकेको भए पनि रंगशालामा क्रिकेट पिच निर्माण गर्ने भन्दै खनिएको खाल्डोबाहेक अन्य कुनै काम भएको छैन। आर्थिक वर्ष सकिनलाग्दा खनिएको खाल्डोमा पानी भरिएर पोखरी बनेको छ। समितिले पिच बनाउन फाउन्डेशन निर्माणको सामान्य कामबाहेक अन्य काम नगरे पनि रकम भुक्तानी लिएर अनियमितता गरेको प्रस्ट हुन्छ ।

मन्त्रालयले विराटनगर १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशालामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिच बनाउन ८५ लाख रुपैयाँ बजेट निकासा दिएको थियो। त्यसमध्ये पिच निर्माणका लागि ४३ लाख रुपैयाँ र पिच रोलरलगायत अन्य उपकरण खरिदमा ४२ लाख रुपैयाँ विनियोजन भएको थियो । पिच रोलर, म्याट, ग्रास कटरलगायत उपकरण खरिद गरिएको छ।

सामाजिक विकास मन्त्रालयले खेलकुदको बजेट कार्यान्वयन गर्ने कार्यालय नभएको भन्दै पिच निर्माणको रकम जिल्ला स्वास्थ्य कार्यालयमा निकासा पठाएको थियो । जिल्ला स्वास्थ्य कार्यालय मोरङले उपभोक्ता समितिमार्फत रंगशालामा क्रिकेट पिच बनाउने सम्झौता गरेको हो।, यो समाचार आजको कान्तिपुर दैनिकमा विनु तिमल्सिनाले लेखेकी छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.