२३ साउन, काठमाडौं ।
उकालो लाग्ने क्रममा रहेको सुनको भाउ बिहीबार पनि तोलामा ५ सयले वृद्धि भएको छ । यो सँगै बिहीबार सुनको भाउ प्रतितोला ७० हजार रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो भाउ अहिलेसम्मकै महंगो हो ।
सुनको भाउ अझै बढ्न सक्ने महासंघले जनाएको छ ।बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा पुगेको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
१७ गतेदेखि सुनको भाउ निरन्तर वृद्धि भइरहेको छ। १७ साउनमा ८ सय रुपैयाँले बढेर सुन तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।साउन १९ गते फेरी तोलामा ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय रुपैयाँ र एकै दिन १५ सय रुपैयाँले बढेर साउन २० गते सुन तोलाको ६७ हजार ८ सय कायम भएको थियो ।यस्तै, मंगलबार फेरि सुन तोलामा २ सय रुपैयाँले बढेर ६८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत भएपछि सुनको भाउ महंगो भएको हो । अहिले विश्वभरी नै अर्थतन्त्रमा समस्या बढेकाले सुनमा लगानीकर्ताको आकर्षण बढेको छ ।