साउन २३, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले जुम्लामा विद्युतको बैकल्पिक व्यवस्थाको लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी गराएका छन ।
प्रतिनिधिसभाको विहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले जुम्लामा विद्युत् आपुर्तिमा आएको समस्याबारे आफुहरुलाई जानकारी प्राप्त भए लगत्तै बैकल्पिक प्रयास सुरु गरिएको उल्लेख गर्दे नेपाल विद्युत् प्राधिकरणको मस्र्याङदी जलविद्युत् केन्द्रमा रहेको ३ सय केविए क्षमताको डिजेल जेनेरेटर पठाउने गरि आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताएका हुन ।
जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत् आपुर्तिको समस्या सम्बोधनका लागि सम्बन्धीत मन्त्री र विद्युत् प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका थिए । उनले मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले फोन पनि नउठाएको र भेटका लागि पनि समय नदिएको गुनासो गरेका थिए ।
मन्त्री पुनले कर्णालीका सम्पूर्ण जिल्लाहरुलाई राष्ट्रिय प्रशारण लाईनमा आवद्ध गर्ने योजना सरकारले अघि बढाएको बताए ।
जुम्लामा ३३ केवि प्रशारण लाईनका लागि यसै बर्ष दैलेख जुम्ला ट्रान्समिसन लाईनका लागि टेण्डर भएर छनौट पनि भईसकेको भन्दै उनले २ बर्ष भित्र प्रशारणलाई बनिसक्ने बताए । साथै उनले यसै बर्षको बजेटमा कर्णाली प्रदेश, सुदुरपश्चिम र प्रदेश नम्बर २ को पुर्व विद्युतीकरणको लागि बजेटको व्यवस्था गरिएको पनि उनले जानकारी गराए ।
सांसद महतको जिज्ञासाको सम्बोधन गर्दै उनले हटलाईन सेवा मार्फत जुम्लाका उपभोक्ताबाट पावर प्लाण्ट विग्रेको जानकारी आफुले पाएको तर सांसद महतले आफुसंग भेट्न गरेको प्रयास बारे जानकार नभएको स्पष्ट पारे । उनले आवेगमा नआई सामान्य ढंगले समस्याको ध्यानार्कण गराउदा उपयुक्त हुने सुझाव समेत दिए ।
उनले जुम्लामा २ सय ४० किलोवाटको विद्युत् प्राधिकरणको प्लाण्ट रहेको र सो प्लाण्ट उपभोक्ताको सहभागीतामा संचालन हुदै आएको स्पष्ट पारे ।