उत्तर कोरियाबाट साइबर हमला हुन सक्ने भन्दै नेपालमा सतर्कता

उत्तर कोरियाबाट साइबर हमला हुन सक्ने भन्दै नेपालमा सतर्कता

२३ साउन, काठमाडौँ ।

उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरूबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत बनाइएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि साइबर हमला गरेर झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको सूत्रहरूले बीबीसीसँग पुष्टि गरेका थिए।

यस्तो खबर सार्वजनिक भएपछि नेपालमा पनि हुनसक्ने सम्भावित त्यस्तो हमला रोक्न विभिन्न खाले उपयाहरू अपनाउन वित्तीय संस्थाहरूलाई जानकारी गराइएको अधिकारीहरूले बताए।

उत्तर कोरियाले नेपालको एउटा ब्याङ्कबाट पनि ठूलो रकम ह्याकिङमार्फत् लगेको पुष्टि भइसकेकाले पनि सतर्कता अपनाउन आह्वान गरिएको अधिकारीहरू बताउँछन्।

आक्रमणको इतिहास
नेपाल प्रहरीका अधिकारीहरूका अनुसार उत्तर कोरियाली ह्याकरहरूको समूहले सन् २०१७ को अक्टोबरमा नेपालको एउटा ब्याङ्कबाट रकम चोरी गरेका थिए।

त्यसबेला ४६ करोड रुपैयाँभन्दा बढी चोरिएको भए पनि ह्याकरहरूले ४ करोड रुपैयाँ बराबर मात्र लिन पाएको अधिकारीहरू बताउँछन्।

नेपाल प्रहरीले करिब दुई महिनाअघिदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको साइबर ब्युरोका सूचना अधिकारी नविन्द अर्यालले भने, “उक्त घटना भएदेखि नै हामीले ब्याङ्कहरूलाई राखेर प्राविधिक र सुरक्षा सम्बन्धी जानकारी दिएका थियौँ। अहिलेको समाचारपछि पनि हामीले सचेत हुन आग्रह गरेका छौँ।” बीबीसी नेपालीबाट

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.