एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार टोटेनहम हट्स्परले एस्टन भिल्लालाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
खेलको सुरुवाती समयमा नै पछि परेको टोटेनहमले अन्तिम १७ मिनेटमा ३ गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । भिल्लाका लागि जोन मक्गिनले गोल गर्दै अग्रता दिलाएका थिए । काउन्टर अट्याकमा भर परेको भिल्लाले त्यसपछि आक्रमण बुन्न भने सकेन ।
दोस्रो हाफको ७३ अौं मिनेटमा टान्गुइ एनडोम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए । कर्नरमा रिबाउन्ड आएको बललाई लुमास मोउराले पास दिएपछि टान्गुइले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । ८६ अौं मिनेटमा ह्यारी केनले डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरे ।
निर्धारित समयको अन्तिम मिनेटमा केनले अग्रता दोब्बर पारे । उनले मौसा सिसोकोको पासलाई उत्कृष्ट फिनिस गर्दै जित पक्का गरे । घरेलु टोली स्पर्सले यस जितसँगै पहिलो खेलमा ३ अंक जोडेको छ ।
त्यसअघि एभरटन र क्रिस्टल प्यालेसको खेल गोलरहित बराबरीमा सकिएको थियो । सेफिल्ड युनाइटेडले पनि पहिलो खेलमा बर्नमाउथलाई १-१ को बराबरीमा रोक्यो । बर्नलीले साउथह्याम्पटनलाई तथा ब्राइटनले वाटफर्डलाई समान ३-० को स्कोरले पराजित गरे ।