साउन २६, काठमाण्डौ । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका लम्बिएको छ ।
स्वास्थ्य परीक्षण रिपोर्ट नआएकाले प्रधानमन्त्री स्वदेश फर्कने कार्यतालिका लम्बिएको उनको सचिवालयले जानकारी दिएको छ । शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेको भए पनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले सिंगापुरको बसाई लम्बिएको हो ।
शुक्रबारपछि आइतबार स्वदेश फर्कने तय भए पनि आइतबारसम्म पनि स्वास्थ्य परीक्षण रिपोर्ट नआउँदा बसाई लम्बिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीसहितको टोली सोमबार थाइ एयरबाट दिउँसो साढे १२ बजे आइपुग्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उनी साउन १८ गते त्यसतर्फ गएका थिए ।