साउन २६, काठमाण्डौं । प्रतिनिधिसभा बैठकको शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नभएको भन्दै दैनिक जसो सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराउदै आएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा बोल्दै सांसद गगनकुमार थापाले शुन्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धीत मन्त्रीले ५ दिन भित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावली कार्यान्वयन गर्न सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।
विगतमा शुन्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलमिा नै व्यवस्था गरिएको उल्लेख गर्दे उनले “नियमको कार्यान्वयन किन नभएको ?” भन्दै सभामुखलाई प्रश्न गरे ।
त्यस्तै शुन्य समयमा बोल्दै सांसदहरुले अन्य समसायिक र क्षेत्रगत विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् । सांसद अमृतादेवी अग्रहरिले कपिलवस्तुमा किसानले मलखाद र पानीको ठूलो अभाव झेल्नु परिरहेको भन्दै मलखाद र सिंचाईको तत्काल व्यवस्था गर्न माग गरिन ।
उनले यसबारे पटक पटक कुरा उठाउदै आएको भए पनि सरकारले वेवास्ता गरेको गुनासो गर्दे कान थुनेर र आँखा बन्द गरेर मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री र कृषिमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइन ।
सांसद कृष्णभक्त पोखरेलले सर्वसाधरण लगायत इच्छुक जनतालाई संघीय संसद भवन भित्र निर्वाध प्रवेश गर्ने वातावरण बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।
सांसद खगराज अधिकारीले कालीगण्डकीको डायभर्सन गर्दा केलादीघाट र देवघाट जस्ता पवित्र घाटहरु पानी विनाका हुने भदै, चापाकोट रामपुर लगायतका टार सिंचाई हुनबाट बञ्चित हुने तथा नारायणीमा पानी जहाज संञ्चालन गर्ने विषय पनि प्रभावित हुने भन्दै विषयवस्तुको गार्भियर्ता तर्फ विचार गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद गणेशकुमार पहाडीले मध्यपहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको खुर्रकोट घुर्मी सडकखण्डमा दोहोरो यातायात संञ्चालनको लागि आवश्यक पहल गर्न आग्रह गरेका छन ।