क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत गर्न संसदीय समितिको सरकारलाई निर्देशन

साउन २६, काठमाण्डौ । संसदीय समितिले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, सम्हार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको हो ।

वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले क्षतिग्रस्त बनाएको सडक र पुलहरुको जीर्णोदार तथा पुनर्निर्माण कार्य तत्काल सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यसैगरी बैठकले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माण कार्य कसले बनाउने भन्ने अन्यौलता अन्त्य गरेर यथाशिघ्र ती सडकहरुको पनि निर्माण कार्यलाई तीव्रता दिन पनि सरकारलाई सचेत गराएको छ ।

सभापति खड्काले दशैं, तिहार, छठजस्ता चाँडपर्वलाई समेत ध्यानमा राखेर वर्षात्ले क्षति पु¥याएका सडक तथा पुलहरु पूर्ण रुपमा संचालनमा ल्याई नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको बताइन्।

समितिले विनाअध्ययन जभाभावी सडक निर्माण कार्य सुरु गरेको पाइएको उल्लेख गर्दै राज्यको स्रोत, साधनको दुरुपयोग हुन नदिन र वातावरण विनाश हुन नदिन पनि त्यस्ता गतिविधि तत्काल रोक्न पनि सरकारलाई निर्देश गरेको छ ।

बैठकमा समितिका सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकारको हानाथापका कारण वर्षाले क्षति पु¥याएका सडक तथा पुल निर्माणको काम अघि बढन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

समितिका सदस्य, प्रभु साहले तीन वटै तहको हानाथापका कारण क्षतिग्रस्त पुल तथा सडकको जीर्णोदार तथा पुनर्निर्माण कार्य अघि बढन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पु¥याएका सबै सडक तथा पुलहरुको मर्मत, सम्हार र पुनर्निर्माणको कामको जिम्मेवारी सरकारले लिने जवाफ दिएका थिए । उनले प्रदेश र स्थानीय तहको कार्य क्षेत्रमा परेका सडक तथा पुलहरुको निर्माणका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भईरहेको र त्यस्ता सडक तथा पुलहरुको निर्माण कार्यले छिट्टै गति लिने विश्वास पनि समितिलाई दिलाएका थियो ।

बैठकमा मन्त्री महासेठले सडक डिभिजन अन्तरगत वर्षात्का कारण ४५ वटा पुलमा क्षति भएको र त्यसको मर्मत, संहार र निर्माणका लागि करिव ४७ करोड ३४ लाख बजेट लाग्ने जानकारी पनि समितिलाई गराएका थिए । गत असार २६ गतेबाट लगातार ३ दिनसम्म आएको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट मुलुकमा मानवीय क्षति समेत हुन पुगेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.