साउन २६, इटहरी । इटहरीस्थित यातायात ब्यवस्था कार्यालय,सवारी चालक अनुमति पत्र शाखामा आइतबारबाट टोकन मेशिन संचालनमा ल्याइएको छ ।
प्रदेश नम्बर १ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सो कार्यालयलाई उपलब्ध गराएको मेशिन एक औपचारिक कार्यक्रमगर्दै संचालनमा ल्याइएको हो ।
प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले सेवाग्राहीलाई टोकन हस्तान्तरण गर्दै मेशिनको उद्घाटन गरेका छन । उनले सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्ने उद्धेश्यस्वरुप टोकन मेशिन संचालनमा ल्याइएको बताए ।
प्रमुख सचिव अधिकारीले यातायात ब्यवस्था कार्यालयको सेवा कार्यालयहरु उदयपुर र इलाममा खोल्ने क्रम जारी रहेको बताउदै छिट्टै धनकुटाबाट समेत लाईसेन्स दिने कार्य शुरु हुने बताए । उनले विभिन्न ठांउका सेवाग्राहीलाई आफुलाई पायकपर्ने स्थानमैं सेवा दिने पद्धतिको विकास गरिसकिएको प्रष्ट पारे ।
यातायात ब्यवस्था कार्यालय,सवारी चालक अनुमति पत्र शाखाकी बिन्दा नेपालले कार्यालयले प्रदान गर्ने सेवाहरुलाई जनमुखी र स्मार्ट बनाउने निति अनुरुप विभिन्न प्रकारका सुधारका कामहरु गर्न लागिएको जानकारी दिए । उनले टोकन मेशिन संचालनमा आएपछि लाइसेन्सकालागि बायोमेट्रिक दिन आउने सेवाग्राहीले अब उपरान्त घन्टौं लाइनमा लाग्नुपर्ने बाध्यता हटेको बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ लाखको लागतमा टोकन मेशिन खरिदगरि केही दिन अघि यातायात ब्यवस्था कार्यालय झापा र सुनसरीलाई प्रदान गरेको थियो ।