साउन २८, विराटनगर ।
विराटनगरस्थित कोशी अस्पतालमा १५ दिनदेखि उपचारको अभावमा छट्पटिरहेका एक वेवारिसे व्यक्तिको उपचार सुरु भएको छ ।
अस्पतालको आकश्मिक कक्षको छेउको विरामी कुरुवा घरमा खुट्टा कुहिएर रहँदा पनि अस्पतालले वेवास्ता गर्दाका तस्वीर सामाजिक संजाल फेसबुकमा आएपछि सवैको समन्वयमा उपचार सुरु भएको हो । उनको कोशी अस्पतालमा प्रारम्भिक उपचार भएको छ भने अब केहीदिनपछि अप्रेशन गरिने बताइएको छ । यसअघि उनको खुट्टा काट्नु पर्ने अवस्था भएपनि अस्पतालले कुरुवा र आफन्तको अभावमा उपचार नगरेको दावी गरेको थियो ।
रगतको धमनी सुकेर रक्त संचालन बन्द भएपछि मासु मर्ने रोग लागेका कारण खुट्टा काट्नु नै पर्ने अस्पतालले जनाएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले ति ब्यक्तिको उपचारको जिम्मा महानगरले लिने बताएका छन् ।
अस्पताल र महानगर मिलेर ती ब्यक्तिको उपचार गरिने अधिकारीले बताए । राम्रोसँग बोल्न नसक्ने ती विरामीले आफनो नाम शंकर थापामगर भएको बताउने गरेका छन् ।