काठमाडौं महानगरपालिकामा करको दायरा दोब्बर बढ्यो

काठमाडौं महानगरपालिकामा करको दायरा दोब्बर बढ्यो

साउन २९, काठमाडौं। करको दायरा बढ्दै जाँदा काठमाडौं महानगरपालिकाले गएका वर्षभन्दा दोब्बर भन्दा बढी घर बहाल कर उठाएको छ । गएको आर्थिक वर्षमा सबैभन्दा बढी राजश्व घर बहाल कर बापत नै उठाइएको कामपाले जनाएको छ ।

कामपाले आर्थिक वर्ष २०७५–७६ मा घरबहाल करबापत एक अर्ब ३३ करोड ७७ लाख १२ हजार ६९९ रुपैयाँ सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७४–७५ मा सो शीर्षकमा ५६ करोड ३५ लाख आठ हजार २७५ रुपैयाँ सङ्कलन गरेको थियो । करको दायरा बढेसँगै घरबहाल करबापत उठ्ने राजश्व रकम बढिरहेको कामपा, राजश्व विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

तीन वर्ष पहिले (आर्थिक वर्ष २०७३–७४) मा यही शीर्षकमा १५ करोड ६९ लाख ५० हजार ८०८ रुपैयाँ सङ्कलन भएको थियो । उहाँका अनुसार घरबहाल करबापत उठ्ने रकम बर्षेनी बढिरहेको छ । उनले भने, ‘अहिले महानगरवासीमा मैले कर तिर्नुपर्छ भन्ने भावना बढ्दै गएको छ ।’

अझै पनि महानगरवासीले आफूले घरबहाल करबापत उठाएको रकमभन्दा कम रकम देखाउने गरेको पाइएको छ । झण्डै आधाभन्दा बढीले घरबहाल कर वास्तविकभन्दा कम देखाउने गरेका प्रमुख न्यौपानेले जानकारी दिए ।

उनका अनुसार धेरैले महानगरलाई देखाउनकै लागि नक्कली सम्झौता गरेको पाइन्छ । त्यति हुँदाहुँदै पनि महानगरवासी करको दायरामा आउनु ठूलो उपलब्धि भएको उनको भनाइ छ । उनले भने, ‘हामीले महानगरवासीको स्वघोषणालाई नै आधार बनाइरहेका छौं ।’

लामो समयसम्म जनप्रतिनिधिविहीन स्थानीय तहमा जनप्रतिनिधि आएसँगै उनीहरूसँग जनताको धेरै अपेक्षा रहेको पाइएको छ । महानगरवासीले पनि स्थानीय सरकारसँग विभिन्न अपेक्षा राखेर कर तिर्ने गरेका प्रमुख न्यौपानेले बताए । महानगरले भने महानगरवासीलाई चाहे जस्तो सेवा सुविधा दिन नसकेको उनले बताए । उनले भने, ‘म कर तिर्छु तर, त्यसबापत मैले के पाउँछु भनेर महानगरवासीले सोध्ने गरेका छन् ।’

अहिले कामपाका ३२ वटै वडामा कर तिर्नेको भीडभाड रहेको उनले बताए । विभागले दैनिकजसो वडावडामा पुगेर निरीक्षण गर्ने गरेको छ । महानगरवासीको गुनासो, कर्मचारीको व्यवहारलगायतका विषयमा वडामा पुग्ने हेर्ने गरिएको उनले बताए ।

कतिपयले ढिला गरे पनि कतिपयमा समयमा तिर्नुपर्छ भन्ने सोचाइ रहेको उनको भनाइ छ । उनले भने, ‘हामीलाई भेट्दा पनि महानगरवासीले हामीले तिरेको करबाट विद्युत, पानी, यातायात के सुविधा पाउँछु भनेर सोध्ने गर्नुहुन्छ, तर हामीसँग त्यसको जवाफ हुँदैन ।’

पहिले–पहिले घरजग्गा कर, मालपोत करलगायतका शीर्षकमा कर उठाउने गरिएकामा कामपाले गएको वर्षबाट मात्रै सम्पत्ति कर लिन शुरु गरेको विभागले जनाएको छ । सम्पत्ति कर शीर्षकमा एउटा व्यक्तिले स्थानीय सरकारलाई तिर्नुपर्ने कर रकम कम भएको न्यौपानेले बताए ।

सम्पत्ति कर बापत कम रकम राजश्व तिरे पुग्ने भन्ने बुझेरै धेरै व्यक्ति करको दायरामा आइरहेको उनको भनाइ छ । उनले भने, ‘पहिले कर भन्नासाथ धेरै तिर्नुपर्छ भनेर छल्न लाग्ने भए पनि अहिले त्यो क्रम घट्दै छ ।’

महानगरले गएको आर्थिक वर्षदेखि मनोरञ्जन कर शीर्षकमा सिनेमा हलहरूसँग राजश्व उठाउन थालेको छ । महानगर क्षेत्रभित्र ४५ वटा चलचित्र हलमध्ये अहिलेसम्म चार–पाँच वटा हलले मात्रै राजश्वबापतको रकम तिरेको न्यौपानेले जानकारी दिए । प्रदेश नं ३ को कानूनासार यस शीर्षकमा उठेको रकमको ६० प्रतिशत स्थानीय सरकारलाई र ४० प्रतिशत प्रदेश सरकारलाई जाने व्यवस्था छ ।

त्यस्तै, पहिले महानगरले पनि यातायात शीर्षकमा राजश्व उठाउँदै आएकामा अहिले यातायातबाट सम्पूर्ण राजश्व उठाउने अधिकार प्रदेश सरकारको हो । प्रदेशमा उठेको रकमबाट ४० प्रतिशत स्थानीय सरकारलाई आउने व्यवस्था छ । महानगरको गएको आर्थिक वर्षको राजश्व सङ्कलनको विवरण हेर्दा सबैभन्दा बढी रकम घरबहाल करमार्फत रहेको छ भने त्यसपछि सम्पत्ति कर, व्यवसाय कर, नक्सापासबापत कर सङ्कलन भएको पाइन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.