साउन २९, एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबल छनौटको प्ले–अफ् समिकरण पूरा भएको छ ।
गएराति भएको दोस्रो चरणको छनौट खेलहरुपछि प्ले अफ् खेल्ने अन्तिम १२ टोलीको टुंगो लागेको हो । गत सिजनको च्याम्पियन्स लिगको उपविजेता नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमले प्ले अफ्मा साइप्रसको अपोइल निकोसियासँग खेल्ने तय भएको छ ।
यसैगरी रोमानियाको सि.एफ.आर क्लुजले चेक गणतन्त्रको स्लाभिया प्रागसँग खेल्दा बेल्जीयमको क्लब ब्रुजले अष्ट्रियाको लिन्जसँग खेल्नेछ ।
च्याम्पियन्स लिग प्ले–अफ्का अन्य खेलहरुमा क्रोएसियाको डाइनामो जाग्रेबले नर्वेको रोजनवर्गसँग, स्विट्जरल्याण्डको योङ ब्वाइजले सर्वियाको रेडस्टार बेलग्रेडसँग तथा ग्रिसको ओलम्पियाकोसले रुसको क्रास्नोदारसँग खेल्नेछन् ।
यी ६ वटा प्ले–अफ्का विजेता टोलीहरु च्याम्पियन्स लिग फुटबलका लागि छानिनेछन् ।
पराजित हुने टोलीहरु युरोपा लिगमा झर्नेछन् । च्याम्पियन्स लिगको समुह चरणको खेल तालिका यही अगष्ट २८ तारिखमा सार्वजनिक गरिनेछ ।