मन्दिरको ५ बिघा जग्गा कब्जा, अविवाहितलाई बिवाहित भन्दै कीर्ते

मन्दिरको ५ बिघा जग्गा कब्जा, अविवाहितलाई बिवाहित भन्दै कीर्ते

 ३१ साउन, काठमाडौँ । जनकपुरधामस्थित हनुमान मन्दिर श्रृंगार भवनको साढे ५ बिघा व्यक्तिका नाममा दर्ता गरिएको छ । एक अर्बभन्दा बढी मूल्य पर्ने जग्गा मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–१९ र साबिकको बेंगासिहपुर–७ (क) स्थित कित्ता नम्बर ४८८ को ५ बिघा १० कठ्ठा र किता नम्बर ४८९ को १७ धुर व्यक्तिका नाममा नामसारी भएको छ ।

उक्त जग्गा मन्दिरले हकभोग गर्ने गरी पूर्वमहन्थ कौशल किशोरका नाममा थियो। हालका महन्थ सूर्यनारायण दासले पूर्वमहन्थ कौशल किशोरलाई बुबा दाबी गर्दै जग्गा एकलौटी नामसारी गराएका हुन् । सूर्यनारायणले बाबुको नाम किर्ते गरी हकभोग आफ्नो नाममा ल्याएका छन् ।

उनले विभिन्न समयमा बनाएका सरकारी कागजातमा कतै कौशल किशोर दास, कतै कौशल किशोर ठाकुर त कतै कौशल किशोर ठाकुर भूमिहार लेखिएको छ । सूर्यनारायण दासका शिष्य रामविनय दास आफ्नै आर्जनको उक्त जग्गा बुवाबाट छोरामा नामसारी भएको दाबी गर्छन् । ‘वर्तमान महन्थका बुवा पूर्वमहन्थ कौशल किशोरको जग्गा उनका छोराका नाममा नामसारी भएको हो,’ उनी भन्छन्, ‘यो जग्गा मन्दिरको होइन पूर्व महन्थको निजी हो ।’

मन्दिरका महन्थ अविवाहित हुनुपर्छ । मन्दिर गुरुशिष्य परम्पराअनुसार सञ्चालनमा छ । पूर्वमहन्थ कौशल किशोर दास पनि अविवाहित हुन् । जानकी मन्दिरकै स्वामित्वको २५ बिघा जग्गा पूजापाठ, भोजन तथा अतिथि सत्कारका निम्ति हनुमान मन्दिरलाई उपलब्ध गराइएको थियो । हाल नामसारी भएको पाँच बिघा त्यसैअन्तर्गत रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन् ।

‘यहाँ कुनै पनि मन्दिरमा कोही महन्थ वा पुजारीका छोरा महन्थ वा पुजारी बनेको छैन । सूर्यनारायण दास कसरी कौशल किशोरका छोरा भए ?’, वैष्णवले भने, ‘मन्दिरका संरक्षक नै भक्षक बन्दै गएका छन् ।’

उक्त जग्गा हनुमान मन्दिरकै देखिएकाले तत्काल नामसारी नगर्न वडा कार्यालयले मालपोत कार्यालयलाई २०७५ मंसिर १६ गते पत्राचार गरेको जनकपुरधाम उपमहानगरपालिका–१९ का वडाध्यक्ष जगदीश यादवले बताए ।

मालपोतका तत्कालीन प्रमुख रामबाबु मण्डलले वडाको पत्रलाई वेबास्ता गरेको आरोप यादवको छ । मन्ण्डलले जेठ २८ गते उक्त जग्गा व्यक्तिका नाममा नामसारी गरेका हुन्। उनी सोही दिन सरुवा भएर गएका थिए ।

पूर्वमहन्थ कौशल किशोर भारत सीतामढीका हुन् । उनले नेपाली नागरिकता कसरी प्राप्त गरे र उनका छोराका रूपमा वर्तमान महन्थ सूर्यनारायण दास कसरी भए भन्ने शंकास्पद रहेको यादव बताउँछन् । अन्नपूर्ण पोष्टबाट

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.