गाइजात्रा पर्व सुरु

गाइजात्रा पर्व सुरु

३१ साउन, विराटनगर ।
दिवंगत भएका आफन्तहरुको मोक्षको कामनासहित नेवार समुदायले मनाउने गाइजात्रा पर्व सुरु भएको छ ।

यो पर्व कृष्णजन्माष्टमीका दिनसम्म मनाउने गरिन्छ । गाईजात्रामा वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी नगर परिक्रमा गराउने प्रचलन रहेको छ । दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले यो पर्व मनाउँछन् ।

कसै–कसैले बालकहरूलाई जोगीको भेष धारण गराएर बाजागाजा साथ नगर परिक्रमा गराउँछन् भने बालबालिकाहरुलाई शिव पार्वतीको भेषमा उतार्ने चलन समेत छ । सँग–सँगै निकै चर्चित परम्परागत लाखे नाचसमेत नाच्ने गरिन्छ । भाद्र कृष्णअष्टमीका दिनसम्म मनाइने गाईजात्राका क्रममा प्रहसन र सामाजिक विकृतिहरुप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका श्लोकहरु पनि गाइन्छन् ।

यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ । दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाईजात्राका सहभागी भएकाहरुलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।

ऐतिहासिक मान्यताअनुसार राजा प्रताप मल्लले पुत्रशोकबाट विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन वर्षभरि मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आदेश दिएकाले सोही समयबाट गाईजात्रा निकाल्ने प्रचलन सुरु भएको बताइन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.