नेकपामा वामदेवलाई पदै पद

नेकपामा वामदेवलाई पदै पद

काठमाडौं : सत्तारूढ नेकपा एकतापछिको कार्यविभाजनमा सचिवालय सदस्य वामदेव गौतमलाई नाफैनाफा आइलागेको छ। एकातिर गौतमकै लागि नयाँ पद सिर्जना गरेर केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दिइँदैछ भने अर्कोतर्फ उनलाई पार्टीका महत्वपूर्ण दुई विभागको प्रमुख बनाइएको छ।

नेताहरूको कार्यविभाजन गर्न शुक्रबार बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले गौतमलाई केन्द्रीय उपाध्यक्षमा प्रस्ताव गरेका थिए। पार्टीमा पाँचौा वरीयताका गौतमलाई संगठन विभाग र किसान महासंघ विभागको प्रमुख बनाइएको हो।

नौ सदस्यीय सचिवालयमा निर्णय प्रक्रियामा आफूलाई अप्ठ्यारो परेको महसुस गरेपछि ओली गौतमलाई जिम्मेवारी दिन राजी भएको स्रोतले बतायो। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न भूमिका खेले पनि आफूलाई जिम्मेवारीविहीन बनाइएको भन्दै गौतमले ओलीको विरोध गर्दै आएका थिए। गौतम पनि विपक्षमा उभिएपछि ओलीलाई कतिपय निर्णय आफू अनुकूल गराउन गाह्रो भएको थियो।

तत्कालीन एमाले संसदीय दलको नेतादेखि पार्टी अध्यक्ष बनाउन आफूले ओलीलाई सहयोग गरे पनि गुन बिर्सेको भन्दै गौतमले आलोचना गर्दै आएका थिए। पार्टी एकताको झन्डै १४ महिनापछि शुक्रबार बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ।

नेकपाले ३२ विभागको प्रमुख र उपप्रमुखको नाम तय गरेको हो। कार्यविभाजनसँगै गौतमलाई उपाध्यक्षको प्रस्ताव गरिएको छ। पार्टीको विधानमा भने उपाध्यक्ष पद छैन। स्थायी समितिको आगामी बैठकबाट निर्णय गराएर गौतमलाई उपाध्यक्ष बनाउने सहमति जुटेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए। पार्टी एकताका क्रममा अध्यक्षद्वय र महासचिवको पद सिर्जना गरिएको थियो।,यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.