रारामा ३८ लाख राजश्व सङ्कलन

रारामा ३८ लाख राजश्व सङ्कलन

३२ साउन, रारा ।

आर्थिक वर्ष २०७५÷७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले रु ३८ लाख राजश्व सङ्कलन गरेको छ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजश्व सङ्कलन गरिएको हो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाका अनुसार गत आवमा ४६५ बाह्य तथा १२ हजारभन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आएका थिए । बाह्य पर्यटकका लागि रारामा प्रवेश शुल्क पहिलेदेखि नै लागू गरिएको थियो । “आन्तरिक पर्यटकका लागि गत कात्तिकदेखि प्रवेश शुल्क लिन थालिएको हो”, रोकायाले भने।

गत कात्तिकदेखि आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति रु १०० तथा बाह्य पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार ३९० प्रवेश शुल्क तोकिएको छ । सार्क राष्ट्रको नागरिकका लागि प्रवेश शुल्क रु एक हजार ५०० तोकिएको छ । कर्णाली राजमार्गको स्तरोन्नति नहुनु र रारा विमानस्थलमा हवाईसेवा नियमित नभएका कारण पर्यटकको आगमनमा कमी आएको रोकायाले बताए ।

रारामा पर्यटकको सङ्ख्या बढाउन र पर्यटन वर्ष २०२० लाई सफल बनाउन रारामा सुविधा सम्पन्न होटेल बनाउनु पर्ने, आसपासमा रहेको अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने, पर्यटकको बसाई लम्बाउन रारालाई पर्यापर्यटनका साथै धार्मिक पर्यटनमा जोड दिनुपर्ने पर्यटन व्यवसायी पूर्णादेवी बम बताउँछन् । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.