४ भदौ, काठमाडौं ।
संविधान समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । संविधान दिवस र राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र बलिदानको महत्वपूर्ण देन रहेको बताएका छन् । जीउ ज्यानको मात्र बलिदानी हैन अन्य थुप्रै प्रकारका बलिदानीको योग संविधान भएको बताउदै प्रधानमन्त्री ओलीले भने, ‘हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रो हो ।’
ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको बताएका छन् । संविधान सहमतिको दस्तावेज भएको र यसले हरेक व्यक्तिका आकांक्षालाई जस्ताको तस्तै पुुरा गर्दैन तर बृह्त्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताएका ओलीले भने, ‘संविधानले नेपालको गौरवपूर्ण परम्परा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेको छ ।’
प्रधानमन्त्री ओलीले संविधान दिवस नेपाली जनताको उत्सवको दिवस भएकोले यसलाई राष्ट्रिय दिवसको रुपमा समेत मनाइएको बताएका छन् । संविधान दिवसलाई भव्यता र व्यापकताका साथ मनाउनु पर्दछ भन्दै ओलीले भने ‘यो नेपालका सबै दिवस भन्दा ठुलो दिवस हो ।
यसले वर्ग वा समुदायलाई मात्र हैन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकोले यसलाई व्यापक रुपमा मनाउनु पर्दछ । घरघरमा दिपावली मनाउनु पर्दछ ।’