४ भदौ, काठमाडौं ।
सत्तारुढ दलका संसदहरुले नेपाल भारतबीच भएको जलश्रोत सम्बन्धि सम्झौता भारत पक्षले पालना नगर्दा नेपाली जनताहरु पिडित बनेको गुनासो गरेका छन् ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा सांसद सुमन राज प्याकुरेल र सांसद कोमल ओलीले नेपाल भारतबीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौता लगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पिडित बनेको बताएका हुन् ।
सांसद सुमन राज प्याकुरेलले कोशी सम्झौता हुँदा बाढी र डुबानले पिडित हुनेहरुलाई क्षतिपुर्ति अनुसार राहत रकम उपलब्ध गराउने सम्झौता भारत पक्षले पालना नगर्दा उदयपुर सुनसरी र सप्तरीका जनता पिडित बनेको बताए ।
सांसद प्याकुरेलले आजबाट सुरुहुने नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस बिषयमा भारतीय पक्षसँग वार्ता गर्न माग गरे । यस्तै बैठकमा बिशेष समय लिएर बोल्दै सांसद कोमल ओलीले नेपाल भारत बीच प्राकृतिक श्रोत बाँडफाँड सम्बन्धि भएका सम्झौता पुनरावलोकन गर्न माग गरिन् ।
दुई देशबीच हुने सम्झौता विन विनको आधारमा हुनुपर्ने भन्दै जलस्रोत, तटबन्ध, सडक जस्ता बिषयमा भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताइन् । आजबाट सुरुहुने संयुक्त आयोगको बैठकमा सम्झौता कार्यान्वयन गर्ने बिषयमा छलफल गर्नुपर्ने उनले बताइन् ।
राष्ट्रिय सभाको बैठकमा संसदहरुले सरकारको कामकारबाही तथा पछिल्लो समय बहसमा रहेको रवि लामिछाने पक्राउ बिषयमा आफ्नो धारणा राखेका थिए ।